छ हात फराकिलो सडक छेउ
सहरको कुनै व्यस्त कुनामा
देखिनलाई लुकिरहेको
म दुई हात फराकिलो सटर हुँ
कोही छ
जो दिनभर भोको राख्न
बिहानै मेरो मुख उघार्छ
म छु
जो मौन आवाज लगाउँछु
सहरलाई आफुतिर बोलाउँछु
सहर , देखिन खोज्ने हरुको भीड हो
उसलाई देखिनु छ, तर भीडमा हैन
एक्लै....
Song:
थरी थरी मुहार छन्
एकै मुहार बन्दछन्
भीडमा जो सारा छन्
के आफ्नै छायाँ चिन्दछन्
पर्खिरहेछु
कोही फुत्त निस्कियोस् भीडबाट
छायाँ भेटाएको उद्घोष गरोस्
या हात उठाओस् बीचबाट र
आफु हुनुको इशारा गरोस्
एउटै मात्र मानिस सही
कोही उम्कियोस्
भीड हुनुको बाध्यताबाट
भीडलाई तर हराउनुको आभास छैन
छायाँको सरोकार छैन
हजारौं पाइला बोक्छ
निस्फिक्री एकोहोरो हिँड्छ
अनुत्तरित केहि प्रश्न छन्
मानिसहरू माँझ निस्सासि रहेछन्
को हुँ , कहाँ छु र किन छु को उत्तर पाउँन
अति व्यग्र छन्
Song:
को हुँ, किन , कहाँ छु
कसैले लौ बताइदेउ
सबमा छु या बेग्लो छु
आज बोध गराइदेऊ
म सटर भनें
हरदिन सडक छेउ निस्ताउँदै
एक एक मानिस केलाउँदै
आफै जस्तो कोही फरक खोज्दछु
तर अफसोस
कसैले आज मेरै अगाडि
सडकको पल्लो किनार
ऐना पसल खोलिदिन्छ र देखाइदिन्छ
म सँगै उभिएका
म जस्तै सटरहरुका प्रतिबिम्ब
आजबाट म पनि एकाएक
भीड भएको छु

